काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिंहदरबार भित्र संसद भवनजस्तो महत्वपूर्ण निर्माण कार्य समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, र विश्वासमा ठेस पुग्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले नयाँ वर्षको नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो तर त्यो समयमै निर्माण किन नभएको भन्दै गुनासो गरे ।
उनले भने,‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो । संसदको सिंहदरबार भित्रको महत्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ । त्यसले देशभरी दिने सन्देशमा ठेस पुगेको छ । सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि सिंगो संसदको ध्यान जान जरुरी छ ।’
साथै उनले क्रिकेट रंगशालाको काम पनि समयममा सम्पन्न गर्न आग्रह गरे ।
उनले भने, ‘क्रिकेट रंगशालाको बारेमा प्रधानमन्त्रीले गर्नु भएको पहलकदमीको समाचार सुने । परियोजना सम्पन्न गर्ने र समयमा परियोजना सम्पन्न गर्नको लागि त्यसमा सुशासन कायम गर्ने धेरै महत्वपूर्ण पूर्ण कुरा हो । प्रधानमन्त्रीज्यूले सपथग्रहण गरेसँगै तीन महिनाभित्रै क्रिकेट रंगशाला बनाउने काम सम्पन्न गर्ने भन्नु भएको थियो । तर त्यो अवधि सकिन दुई दिन अगाडि उहाँले त्यो परियोजना किन सम्पन्न भएन ? अब कति समय लाग्छ ?’
प्रतिक्रिया