काठमाडौं । मन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरिन्।
नेपालको काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) को आयोजनामा आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) सुरु भएको छ।
यस अवसरमा मन्त्री राणाले नेपालमा विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धन सम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि प्रेरित गरिन्। उनले नेपालमा लगानीको वातावरण अनुकूल भएको र उच्च प्रतिफल प्राप्त हुने अवसर रहेको बताइन्। मन्त्री राणाले नेपालले विदेशी लगानी आकर्षित गर्न ‘डबल बी माइनस (BB-) रेटिङ’ प्राप्त गरेको र प्रोत्साहनमुखी नीति लागू गरेको जानकारी पनि दिइन्।
मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई मात्र आर्थिक होइन, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट पनि मजबुत बनाउनु पर्ने आवश्यकता औंल्याइन्। उनले दुई देशको सम्बन्धलाई क्षेत्रीय सहकार्यको उदाहरणका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।
उनले नेपाल र भारत बीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध रहेको भन्दै दुई देशका सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने महत्त्वमा जोड दिइन्।
यसैगरी, मन्त्री राणाले अन्तरदेशीय (क्रस–बोर्डर) पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने कुरा उठाइन्। उनले एकीकृत जाँचपास केन्द्र (आईसीपी), रेलमार्ग, पेट्रोलियम पाइपलाइन र विद्युत् प्रशारण लाइनजस्ता परियोजनाहरू नेपाल–भारत आर्थिक सहकार्यका महत्वपूर्ण आधार स्तम्भ भएको उल्लेख गरिन्।
प्रतिक्रिया