काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन् ।
सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् ।
पार्टीका सदस्य हरि ढकालले २८ दिनपछि रवि लामिछाने आफूलाई लागेको धुलो टकटक्याएर बाहिर आउने बताएका छन् । उनले नेपालको इतिहासमा अनुसन्धानको शैलीलाई रविले कसरी सघाए त्यो दर्ज हुने बताए ।
उनले भने, ‘२८ दिनपछाडि रवि लामिछाने आफूलाई लागेको धुलो टकटक्याएर बाहिर आउनु हुन्छ । उच्च स्रोत भनेर भनिएको छ तर त्यो उच्च स्रोतले यस्तो भन्यो उस्तो भन्यो भनेर भन्न छोडिदिए हुन्छ । उच्च स्रोत एउटा भ्रम भयो । २८ दिनमा ईतिहासमा दर्ज हुने गरी दुईवटा घटना भयो । अनुसन्धानलाई कसरी सघाउनुपर्छ भन्ने विरलै हुने घटना हो र अर्को रविले अनुसन्धानको शैलीलाई कसरी सघाए त्यो दर्ज हुन्छ ।’
केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । पार्टीको औपचारिक निर्णयमा भने सडक प्रदर्शन नगर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया