Logo

मुख्य समाचार

बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दाको तयारी



काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ ।

घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष घिमिरेले गैरसंवैधानिक न्याय परिषद नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको बिकृति र विसङ्गति अन्त्यको माग गर्दै आएका छन् ।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतको अवहेलनाको रुपमा ब्याख्या गर्दै प्रतिवेदन तयारी गरिरहेको अदालत स्रोतले जनाएको छ ।

अदालतमा विकसित पछिल्लो घटनाक्रमबारे छलफलगर्न बारले आजै अपरान्ह ५ बजे विशेष बैठक बोलाएको छ ।  बैठक बारको सभा हलमा बस्नेछ ।

घिमिरेका अभिव्यक्तिलाई लिएर न्याय परिषदको सचिवालयले विज्ञप्तिमार्फत आपत्ती जनाएको छ । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सिफारिसका विषयलाई लिएर घिमिरेले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ११ बजे