Logo

कर्पोरेट

अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा रोक


१० आश्विन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गरेको छ । अपि पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको यस वर्षको लाभांश विद्युत नियमन आयोगले रोक लगाएको हो ।

आयोगका अनुसार कम्पनीले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन माग अनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको साथै बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गरेको देखिन्छ । जुन कार्य कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको भन्दै स्वीकृति दिन नमिल्ने भनाई आयोगको छ । 

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश प्रस्ताव गरेको हो ।  गत वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उता कम्पनीले भने प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन बुक कलोज गर्न लागेको छ । योबीचमा नियमन आयोगले लाभांश प्रस्तावनै स्वीकृत नगरेकाले कम्पनीले साधारणसभा अन्योल बनेको देखिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १२ : ४६ बजे