Logo

खेलकुद

किंग्स कपको उपाधि अल हिलाललाई



काठमाडौं । साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो ।

हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको हो ।

खेल सुरु भएको सातौं मिनेटमा हिलालका लागि एलेक्सान्दर मित्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा अल नासरका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

८७ औं मिनेटमा हिलालका अली अल बुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए ।

८८ औं मिनेटमा नासरका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो ।

९० औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटिन पुगेको थियो । उसका कालीडो कोलीबाली दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर, टाइब्रेकर हुँदै सडन डेथमा हिलालले बाजीमार्न सफल भयो ।

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे ।

किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ८ : १६ बजे