Logo

खेलकुद

कराते टोलीलाई बिदाई गर्दै मन्त्री पोखरेलले भने, ‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस्’



काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा सहभागी हुन लागेका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गरे ।

उनले खेलाडीहरूबाट राज्यले ठूलो अपेक्षा राखेको भए पनि प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाब नलिन आग्रह गरे ।

‘देशको झण्डाको प्रतिनिधित्व गर्दै खेल्न जानुभएको छ । त्यसका लागि सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘अहिले नतिजाको बारेमा नसोच्नुहोस्, आफ्नो तर्फबाट उत्कृष्ट खेल दिनुहोस् र त्यहाँबाट नयाँ अनुभव लिएर फर्कनुहोस् ।’

मन्त्री पोखरेलले खेलाडीले प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पारे । जित हासिल गर्दा मात्र स्वागत गर्ने र पराजित हुँदा बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

खेलाडीहरूले राज्यबाट ठूलो अपेक्षा नगरेको आफूले विभिन्न खेलाडीहरूसँगको अन्तरक्रियाबाट पाएको मन्त्री पोखरेलले बताए । खेलाडीहरूले आफ्नो मेहनतको कदर र राज्यबाट सम्मानको अपेक्षा मात्र गर्ने गरेको उनको भनाइ थियो ।

खेलाडीको सम्मानका लागि सरकारले केही सुधारका काम अघि बढाएको उनले जानकारी दिए । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विमानस्थलमा ‘भीआईपी एक्सेस’ उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा सुरुवात भएको उनले बताए ।

‘देशको प्रतिनिधित्व गर्दै जाने खेलाडीले पनि अन्य विशिष्ट व्यक्तिले जस्तै सम्मान पाउनुपर्छ । अहिलेसम्म खेलाडीहरू सामान्य यात्रुजस्तै लाइनमा बसेर आफ्नै सामान बोकेर जाने अवस्था थियो। त्यसलाई परिवर्तन गर्दै खेलाडीलाई भीआईपी प्रवेशको व्यवस्था गरेका हौँ,’ मन्त्री पोखरेलले भने ।

उनले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्न आफूहरू विमानस्थलमै पुग्ने प्रयास गर्ने पनि बताए ।

मन्त्री पोखरेलले कराते टोलीलाई देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै भने, ‘देशको प्रतिनिधित्व गर्नुस्, आफ्नो उत्कृष्ट प्रदर्शन दिनुस् । नतिजा जे भए पनि तपाईंहरूप्रतिको हाम्रो सम्मान उस्तै रहनेछ । गो, गिभ योर बेस्ट । बेस्ट विशेज टु अल अफ यू ।’

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १ : ११ बजे