Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र अन्य समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीज्युले आज अपराह्न ५ बजे क्याबिनेट बैठक बोलाउनु भएको छ,’ सचिवालयका एक सदस्यले भने । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि विभागीय मन्त्रीहरूसँग प्रधानमन्त्रीले ब्रिफिङ लिने पनि सचिवालयले बतायो ।

आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिए। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन् ।

आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएकामा एआईजी बज्राचार्यमाथि कारबाही सिफारिस भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँमा भएको निर्वाचनमा पूर्वआईजीपी खनाल एमालेबाट उम्मेदवार थिए ।

सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । तर आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  २ : ०९ बजे