Logo

मुख्य समाचार

छलफलमा उपस्थित हुन अर्थमन्त्रीलाई समितिको निर्देशन


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । अर्थमन्त्रालयको रणनीति र कार्ययोजनाका बारेमा छलफलका लागि उपस्थित हुन संसद्को अर्थ समितिले अर्थमन्त्री प्रकाशशरण महतलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा बिहीबार भएको बैठकमा आगामी वर्षका लागि राजस्व संकलनको प्रक्षेपण र लक्ष्य निर्धारण यथार्थपरक बनाउन छलफलमा बोलाएको हो । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थमन्त्रालयलाई आफ्नो योजना बताउन आगामी बैठकमा अर्थमन्त्री महतलाई उपस्थित गराइ छलफल गर्ने निर्देशन दिएका हुन् ।

नेपाल सरकारले आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य, संशोधन र आयव्ययको अनुमान परिपक्व र यथार्थपरक ढंगले गरेको नदेखिएकाले अर्थमन्त्रीको उपस्थितिमा लिपिगत छलफल गर्नुपर्ने समितिका सदस्यहरुको मागअनुसार उक्त निर्णय भएको हो ।

यसका साथै उनले भन्सार कार्यालयको अनुगमन सम्बन्धमा उपसमिति गठन गरि आवश्यक काम अगाडि बढाउने र आवश्यकता अनुसारको सम्बन्धित स्थानमा निर्देशन दिने पनि निर्णय गरेको पनि बताए ।
बिहीबारको बैठकमा अर्थ मन्त्रालयका सचिव, राजस्व भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशकसँग राजस्व संकलन र चुहावटको समस्या समाधानका विषयमा छलफल भएको थियो ।

बैठकमा सुन तस्करीको विषयमा प्रश्न उठेपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन नै छोड्ने गरि काम नगरेका भन्दै विभागका कसैले पनि सुनमा पैसा खाने काम नगरेको दाबी गरे ।

बैठकमा अर्थमन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ राजस्वतर्फका अर्थसचिव रामप्रसाद घिमिरेले दिए । सरकारको विद्युतीय साधनलाई प्रोत्साहन गर्ने नै नीति छ, त्यसकारणले यो वर्षको आर्थिक ऐनमा पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतीयमा परिवर्तन गर्ने सहुलियत सुविधा दिएको उनले बताए ।

मुलुकले छोटो समयमा विकास हासिल गरेकोमा गर्व गर्नुपर्ने तर्क उनले गरे । अपेक्षाकृतरुपमा प्रगति नभएपनि केही हदसम्म भएको उनले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : ५४ बजे