Logo

मुख्य समाचार

स्काउटको अधिवेशन रोकिएकोप्रति अध्यक्ष ओली रुष्ट



काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेश विपरित गएर सरकारले नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएका छन् । उनले स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्री अधिवेशन स्थगित गराएको दाबी गरे ।

पार्टीनिकट बैंक,बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोहमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्न गरेको निर्देशन हस्तक्षेप भएको बताए ।

अधिवेशनका लागि भनेर स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई समेत बोलाइसकेको उल्लेख गर्दै यस्तो अवस्थामा अधिवेशन नगराउँदा नेपालको इज्जतमा असर पार्ने उनले बताए ।

पहिले पनि स्काउट भंग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गर्दै ओलीले अदालतले दिएको आदेश विपरित प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको भन्दै आपत्ति जनाए ।

उनले प्रधानमन्त्रीलाई स्काउटको अधिवेशन नरोक्न आफूले सुझाव दिएको उल्लेख गर्दै ओलीको सुझावप्रति दाहालले मिलाएर लैजान खोजेको जवाफ दिएको प्रस्ट्याए ।

ओलीले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको आरोप लगाए । यस्तै उनले एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले कांग्रेसको  लागि दुईओटा अध्यक्ष चाहिएकाले एनआरएनएमा तीन अध्यक्षको व्यवस्था गर्न लगाइएको भनाई ओलीको छ । 

उनले गठबन्धन सरकारलाई अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको उल्लेख मात्र गरेनन् गठबन्धन सरकार गैरकानुनी र बेथितिले गर्दा चलेको आरोप लगाए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : १२ बजे