Logo

मुख्य समाचार

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित



विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा बिलम्व भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारी र शिक्षकहरुले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्याली आयोजना गरेका थिए ।

माग पूरा गर्न गम्भीर नभएको भन्दै कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई प्रतिष्ठानका निश्चित ठाउँमा आउजाउ गर्न निषेध गर्दै उनीहरुले ‘निषेधित क्षेत्र’ समेत तोकेका छन् ।

गत कात्तिक २० गतेको सहमतिअनुसार बढुवा प्रक्रियाका लागि अन्तर्वार्ता लिन ढिलाइ भएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज खानका अनुसार सहमतिअनुसार अन्तर्वार्ताको प्रक्रिया नगरिएपछि आन्दोलन गर्नुपरेको हो ।

आइतबारसम्म पनि आफूहरुको माग पूरा गरी समस्याको समाधान नगरिए अझ सशक्त आन्दोलन गर्ने प्रतिष्ठानका कर्मचारी तथा शिक्षकहरुले चेतावनी दिएका छन् ।

यसअघि पनि कर्मचारी र शिक्षकहरुले माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन गरेका थिए । लामो समयसम्म आन्दोलन गरेपछि सहमति भएको थियो ।

गत कात्तिक २० गते आन्दोलनरत शिक्षक र कर्मचारीसँग प्रतिष्ठान प्रशासनको छुट्टाछुट्टै ४ बुँदे सहमति भएको थियो ।

उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गरिने भनिए पनि सहमतिअनुसार काम नभएको भन्दै असन्तुष्ट बनेका शिक्षक र कर्मचारीले फेरि आन्दोलन सुरु गरेका हुन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १५ बजे