Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहालले मागे आफ्नै पार्टीको सहयोग



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्तासँग सरकारले गरेका राम्रा काममा सघाउन आग्रह गरेका छन् ।

सरकारको नेतृत्व गरेर आफूले राम्रा कामहरु अघि बढाएको भन्दै उनले माओवादीका नेता कार्यकर्तासँग त्यसमा सहयोग मागेका हुन् । सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै उनले पार्टी विधानको मस्यौदा तयार भएको खुलाए । छिटै स्थायी समितिको बैठक बोलाएर विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्ने पनि उनले बताए ।

उनले भने, ‘पार्टी विधानको मस्यौदा तयार भएको छ । छिटै स्थायी समितिको बैठक बस्छौं र विधान तल्ला कमिटीहरूमा पठाउने निर्णय गर्छौं । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्नेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।’

प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष दाहालले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताए ।

नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी गरिएको बताउँदै उनले त्यो २१ औं शताब्दीको जनवादकै नयाँ रूप भएको स्पष्ट पारे ।

‘आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्नेबारे छलफल भएको छ । बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ,’ उनले भने, ‘आजबाट त्यसको थालनी भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुन्छ, त्यसका आधारमा बजेट बन्छ । यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो ।’

सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिहरूको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउन लागेको उनले बताए । ‘हामीले २१ औं शताब्दीको जनवादमा भनेका थियौं– राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौं, यो पनि आफंैमा त्यसको एक रूप हो,’ उनले भने ।

उनले सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने बताए ।

उनले भने, ‘सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ । केही नयाँ चीज भएको छ, केही नयाँ रेकर्ड बनेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि त्यस्तै पहल लिइएको छ । यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएको छ । यसमा नै टेकेर आगामी वर्ष थप राम्रो गरिनेछ, यसमा सिंगो पार्टीले सरकारलाई सहयोग गर्नुस् ।’

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : २३ बजे