Logo

कर्पोरेट

आर्थिक मन्दीका कारण ‘सरेण्डर’को माग गर्ने बीमितहरु बढे : सीईओ पाण्डे



काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले पछिल्लो समय ‘सरेण्डर’ गर्न (बीमालेख फिर्ता गर्न अर्थात समर्पण गर्न) माग गर्ने बीमितको संख्या निकै बढेर गएको बताएका छन् ।

उनले बीमालेख समर्पणको अवधि दुई वर्षबाट बढाएर तीन वर्ष कायम गरिएको बेलामा पोलिसि फिर्ता गराउने बीमितहरुको संख्यामा ह्वात्तै वृद्धि भएको बताएका हुन् ।

यता बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले भने बीमा कम्पनीहरुले कम्तीमा पनि पाँच वर्षको अवधिसम्म सरेण्डर अवधि लम्बयाउने योजना बनाइरहेको छ । आर्थिक मन्दीकै कारण मानिसहरु धेरै समस्यामा पर्न थालेपछि प्राधिकरणले यो निर्णय गर्न ढिलाई गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बजारको आवश्यकता र माग जस्तो आउँछ, आफूहरुले पनि त्यस्तै निर्देशन दिने बताए ।

पौडेलले आर्थिक मन्दीको कारण पछिल्लो समयमा सरेण्डरको अवधि दुई बर्ष नै कायम गर्न प्राधिकरणमा बीमितहरुको माग आएको स्वीकार गरे । उनले त्यस्तो अवस्था सिर्जना हुुनुको पछाडी बीमालेखमा कैफियत भएको नभई देशमा देखिएको आर्थिक मन्दी नै मुख्य कारण रहेको बताए । पौडेलले बीमा क्षेत्रमा भएका कतिपय विपन्न वर्गका बीमालेखहरु आर्थिक अभावका कारण फिर्ता हुने बताए ।

केही सीईओहरुले भने योजनवद्धरुपमा हुने ‘प्लान सरेण्डर’ मात्रै घातक रहेको तर अन्य सरेण्डर भने बीमितले आफ्नो आवश्यकता अनुसार गर्दा आफूहरुलाई समस्या नरहेको बताउने गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ११ : २१ बजे