Logo

विश्व

एनआरएनएको १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने भएको हो ।

सम्मेलनमा गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, सम्पतीको अधिकार, नेपालमा पर्यटन प्रर्वधन, संघको विधान लगायतका विषयमा छलफल हुने भट्टराईले जनाए ।

सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आ–आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । विज्ञहरुलाई कार्यक्रममा सहभागि गराउन र कार्यक्रमको मोडालिटी तयार गर्न डा. नवराज रोसियाराको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिको सदस्यमा राजु अर्याल, चिरन्जीबी खड्का र डा. बोधराज पौडेल रहेका छन् ।

सम्मेलनमा युरोपस्थित करिब दुई दर्जन देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरिएको संघको समाचार संयोजक चिरन शर्माले जनाकारी दिए ।

समितिमा संघका यूरोपस्थित सबै पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरु, संघका राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवहरु रहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेलाको समेत आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : २५ बजे