काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले रुस-युक्रेन युद्वमा पक्ष लिनु गम्भीर गल्ती भएको बताएका छन् ।
बिहीबारको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रुसविरुद्ध र युक्रेनको पक्ष लिनु गलत भएको बताएका हुन् । छिमेकी मुलुकहरू चीन र भारतले समेत कुनै एउटा पक्ष नलिएको उल्लेख गर्दै दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा कायम अडिग रहनुपर्ने बताए ।
प्रचण्डले रुस-युक्रेनका विषयमा नेपालले देखाएको पक्षधरता नेपालको भूराजनीतिक परिस्थिति प्रतिकूल रहेको उल्लेख गरे ।
‘यो गम्भीर गल्ती भयो भन्ने हाम्रो धारणा हो । एकातर्फ भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम समर्थन गरिरहेको अवस्थामा हामीले कसैको पक्षमा बोल्नुहुँदैनथ्यो । त्यो वक्तव्य क्याबिनेटबाट निर्णय भएर आएको पनि होइन रहेछ । हामीले तत्काल गठबन्धन बैठकमा यो विषयमा असहमति राखेका थियौं’, प्रचण्डले भने ।
प्रतिक्रिया