Logo

समाचार

नेपालमा पहिलो पटक गधा दिवस मनाइयो



काठमाडौं । विश्वमा हरेक वर्ष मे ८ का दिन मनाइने गधा दिवस यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको छ ।

नेपालमा एनिमल नेपाल नामक पशुअधिकारवादी संस्थाले ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ यस वर्षदेखि यो दिवस मनाउन सुरु गरेको हो ।

एनिमल नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा श्रममा प्रयोग गरिने गधालाई मानव मजदूरसरह सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिएको छ ।

गधालाई हिमाली तथा पहाडी क्षेत्रमा विभिन्न प्रकारका सामान ओसार–पसारका लागि कडा परिश्रम गराइने भए पनि उनीहरुलाई उचित आराम, आहार तथा वासस्थानको राम्रो व्यवस्था नभएको पाइएको संस्थाले जनाएको छ । गधालाई नेपालका अधिकांश इट्टा भट्टामा इट्टा ओसार्ने काममा समेत प्रयोग गर्ने गरिएको छ ।

एनिमल नेपालमा कार्यरत डा. अतिश यादवले गधाका लागि कम्तिमा ५ स्वतन्त्रता आवश्यक रहेकोमा जोड दिए ।
उनले गधाका लागि भोक-प्यासबाट मुक्ति, डर-त्रासबाट मुक्ति, चोटपटकबाट मुक्ति तथा उपचारको व्यवस्था, उचिव आवासको व्यवस्थाका साथै एक ठाउँबाट अर्को ठाउँमा सवारी साधनमा राखेर लैजाँदा ओसारपसारको मापदण्डअनुसारको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

गधा, खच्चरले यातायात क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिँदै उनले यसको अवमूल्यन गर्न नहुने बताए । अन्य पशुहरुसरह गधाको संरक्षणका लागि सरकारले उचित नीति तर्जुमा गर्नुपर्ने उनको भनाइ थियो ।

सामान्यतया विश्वका सबै राष्ट्रहरुमा गधालाई सामान ढुवानी गर्न तथा कृषि प्रयोजनका लागि पाल्ने गर्दछन् । तर केही राष्ट्रहरुमा भने दुग्ध तथा मासु उत्पादनका लागि पाल्ने गरेको पाइन्छ ।

छिमेकी मुलुक भारतमा गधाको दुध सबैभन्दा महँगो मूल्यमा बिक्ने गरेको छ । अत्यधिक पौष्टिक तत्वका कारण नवजात शिशुलाई गधाको दुध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको दुधप्रति आकर्षण बढ्दै गएको छ ।
भारतमा १ लिटर गधाको दुधका लागि भारु २ हजार रुपैयाँ पर्ने गर्दछ । एउटा गधाले २४ घण्टामा २५० मिलिलिटर दुध दिने गर्दछ ।

यस्तै, विश्वका धेरै मुलुकमा हरेक वर्ष सुन्दरी प्रतियोगिता हुने जस्तै कोलम्बियामा भने गधा सुन्दरी प्रतियोगिता आयोजना हुने गर्दछ । कार्यक्रममा घोडा प्रजातिका गधा तथा खच्चडका बारेमा तयार पारिएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : १० बजे