Logo

निर्वाचन विशेष

रोल्पाको परिवर्तन गाउँपालिकामा कसले मार्ला बाजी ?



रोल्पा । स्थानीय तह निर्वाचन नजिकिएसँगै रोल्पाको परिवर्तन गाउँपालिकामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् ।

परिवर्तन गाउँपालिकामा नेकपा (माओबादी केन्द्र)का परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर ‘थमन’ र भर्खरै उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्षबाट विदाई भएका नेपाली कांग्रेसका नेता विश्वकुमार चन्दबीच प्रतिष्प्रर्धा हुने देखिएको छ ।

यस गाउँपालिकामा नेकपा (एमाले), कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको छ । तीनै दलले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिइसकेका थिए । तर अध्यक्षमा एमालेबाट उमेदवार दिएका गंगाराम वुढामगर, एकीकृत समाजवादीबाट उम्मेदवार दिएका तीलवहादुर पुन तथा उपाध्यक्षमा एकीकृत समाजवादीकी अरुणा थापा, कांग्रेसकी सपना घर्तीमगर र स्वतन्त्र उमेदवार लक्ष्मी डाँगीले उमेदवारी फिर्ता लिएका छन् ।

तालमेल गर्दा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएका छन् ।

परिवर्तन गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष पदमा कांग्रेसका विश्वकुमार चन्द र उपाध्यक्षमा एमालेकी सपना रोकामगर उम्मेदवार रहेका छन्, भने माओवादी केन्द्रबाट अध्यक्षमा शुकबहादुर वुढामगर ‘थमन’ र उपाध्यक्षमा कलादेवी खत्रीनी उम्मेदवार रहेका छन् ।

यस गाँउपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निमकान्त डाँगीले ४ हजार ६०८ मत ल्याएर विजयी हुँदा कांग्रेस नेता झक्कुप्रसाद घर्तीमगर १ हजार ९८९ मत ल्याएका थिए, एमालेका लोकेन्द्रबहादुर घर्तीमगरले ६५९ मत ल्याएका थिए भने राष्ट्रिय जनमोर्चाका कृष्ण वहादुर थापाले ८ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी हित कुमारी बुढामगरले ४ हजार ६०८ मत ल्याएर विजय भएकी थिइन् । नेपाली कांग्रेसबाट लक्ष्मी डाँगीले १ हजार ८९९ मत ल्याएकी थिइन्, नेकपा (एमाले)बाट दिल कुमारी आर.एमले ७०० मत ल्याएकी थिइन, भने राष्ट्रिय जनमोर्चाबाट आमदेवी घर्तिले ५ मत ल्याएकी थिइन् ।

यस गाँउपालिकामा यस पटकको निर्वाचनमा कसको नतिजा कस्तो आउला भन्ने आगामी बैशाख ३० गते जनताले दिने मतले निधो गर्नेछ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : ४५ बजे