Logo

मुख्य समाचार

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न ईश्वर पोखरेल पुगे पुरुन्चौर



काठमाडौं । नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो ।

उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।

उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयर टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुन् ।

पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लागेका पौडेलको टिकट खोसिएन मात्रै उनी घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयो । उनका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ ।

हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन् । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका छन् । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ ।

पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गरे । करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले श्रोतले जनाएको छ । ‘उहाँसँग धेरै गुनासा थिए । ति गुनासा राख्नुभयो,’ ती नेताले भने, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो ।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ३२ बजे