म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।
उनका अनुसार जिल्लाभर कूल उम्मेदवारको सङ्ख्या ७१८ जना कायम भएको छ । अध्यक्ष/प्रमुखमा तीन, उपाध्यक्ष÷उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा चार र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा पाँच, मङ्गला गाउँपालिकामा सात र रघुगङ्गा गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् । जिल्लाभर पालिका अध्यक्ष/प्रमुखमा २९, उपाध्यक्ष/उपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ ।
धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी बेनी नगरपालिकामा माओवादीले नगरप्रमुख र कांग्रेसले उपप्रमुखको उम्मेदवारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा दर्ता गराएको उम्मेदवारी फिर्ता गरेको छ ।
बेनीको मेयरको उम्मेदवारबाट माओवादीका धनलाल जैसी र नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् । उपमेयरमा नेपाली कांग्रेसका अमृतदेवी बानिया र नेकपा एकीकृत समाजवादीकी मुना बानियाले फिर्ता लिए । मङ्गलामा एकीकृत समाजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मङ्गोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडाध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठलगायतले मनोनयन फिर्ता लिएका छन् ।
प्रतिक्रिया