Logo

Breaking News 1

बूढीगण्डकी आयोजनाबाट प्रभावित धादिङ र गोरखामा स्थानीयले घरगोठ देखि बोटबिरुवासम्मको मुआब्जा पाउने



काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित गोरखा र धादिङका स्थानीयलाई मुआब्जा दिने भएको छ । प्रभावितलाई क्षतिको विवरणअनुसार मुआब्जा दिने भएको हो ।

क्षतिअनुसार रुखबिरुवा, घर, गोठ तथा खोर भाँडा माँझने ठाउँसमेतको गरि मुआब्जा निर्धारण गरिएको छ । सबै प्रजातिका बिरुवाको प्रतिविरुवा १० रुपैयाँको दरले क्षतिपूर्ति पाइने छ । बाँसको पनि प्रति घना १० रुपैयाँको दर निर्धारण गरिएको छ ।

सबै प्रजातिका लाथ्राको प्रतिलाथ्रा ४४ रुपैयाँ तोकिएको छ । यसैगरी आँप, केरा, अम्बा, निबुवा, सुन्तला, कागती, नासपाती, रुख कटहर, भुईं कटहर, अनार, भोगटे, सुपारी, मेवा, मौसम, लिची, हलुवाबेद, आरु, आरुबखडा, कफी, ड्रागन फ्रुट, अंगुर, कुरिलो, घ्युफल,अलैची, स्याउ, उखु, सरिफा, मरिच, लहरे आप, लप्सी लगायतका फलफूलको प्रतिबोट १८५ रुपैयाँदेखि ११ हजार ७ सय रुपैयाँको दररेट तोकिएको छ ।

यसैगरी, साल, साज, जामुन, चिलाउने, खयर, चाँप, सिसउ, मसला, उत्तिस, कटुस, सिमल, करम, हर्रो÷बर्रो लगायतका रुखको पनि प्रति क्युफिटको हिसाबले मुआब्जा तोकिएको छ । घरलाई उत्तम, मध्यम र सामान्य भनेर वर्गीकरण गरी मुआब्जा तोकिएको छ ।

यसैगरी, कुखुराको खोर, भाँडा माझ्ने ठाउँ, धन्सार, पानी धारा, पालीको समेत प्रतिवर्गफिटको हिसाबले मुआब्जा तोकिएको छ । आयोजनाबाट प्रभावित हुने धादिङका साविक गाविसहरुमा सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक, र त्रिपुरेश्वर रहेका छन् । उनीहरुले मुआब्जा पाउनेछन् ।

यस्तै, गोरखाका साविक गाविसहरु घ्याल्चोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी र थुमीका वासिन्दाले मुआब्जा पाउनेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ४६ बजे