काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका नेतासँगको निकटताका आधारमा कसैले पनि कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा ‘हामी तयार छौँ अभियान’ अन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले गलत क्रियाकलापमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
कांग्रेसका नेता तथा कार्यकर्ता गलत काममा संलग्न भए कारबाही गर्न पार्टीले सहयोग गर्ने उनले बताए । तर, राजनीतिक आस्था वा पार्टीमा आबद्ध भएकै आधारमा कसैलाई राज्यले पूर्वाग्रह राखेर कारबाही गर्न खोजे त्यसको विरोध गर्ने उनले चेतावनी दिए ।
थापाले कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैका नेता तथा कार्यकर्ताका हकमा समान कानुनी सिद्धान्त लागू हुनुपर्ने बताए । सार्वजनिक आरोप वा टिप्पणीका आधारमा कसैलाई अपराधी घोषणा गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ थियो ।
“अपराधी, कोही मान्छे अपराधी हो कि होइन भन्ने काम हाम्रो होइन,” थापाले भने ।
उनले प्रधानमन्त्री, प्रधानमन्त्रीको टिम वा रास्वपा सभापतिको निकटताका आधारमा कसैले अतिरिक्त सुविधा वा कानुनी छुट पाउन नहुने बताए ।
राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिने प्रवृत्तिको कांग्रेसले विरोध गर्ने उल्लेख गर्दै थापाले गलत काम गर्ने व्यक्तिलाई संरक्षण नगर्ने र निर्दोष व्यक्तिलाई राज्यको पूर्वाग्रहको शिकार हुन नदिने धारणा राखे ।
“प्रधानमन्त्रीको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपाको सभापतिजीको टिममा छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा पाउँदैन, उसले छुट पाउनु हुँदैन,” उनले भने ।








प्रतिक्रिया