Logo

विशेष

राजनीतिको नयाँ मोड, दलहरु संकटमा र शक्तिको बदलिँदो समीकरण



नेपाली राजनीति अहिले एउटा असाधारण संक्रमणबाट गुज्रिरहेको छ । पुराना राजनीतिक शक्तिको प्रभाव खुम्चिँदै गएको छ । नयाँ शक्तिप्रति जनताको आकर्षण बढेको छ ।
तर नयाँपनको आकर्षण र शासन सञ्चालनको क्षमता एउटै कुरा होइन भन्ने संकेत पनि देखिन थालेको छ । सत्ता, शक्ति र राजनीतिक अस्तित्वको संघर्षले मुलुकको राजनीतिलाई नयाँ दिशातर्फ धकेलिरहेको छ ।
कांग्रेसभित्रको विभाजन, एमालेको आन्तरिक अन्योल, रास्वपाको बढ्दो राजनीतिक प्रभाव र सरकारका निर्णयमाथि उठिरहेका प्रश्नले आगामी राजनीतिको स्वरूप कस्तो होला भन्ने जिज्ञासा बढाएको छ ।
नेपाली कांग्रेस अहिले आफ्नो इतिहासकै एउटा कठिन मोडमा छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अद्यावधिक गरेपछि पार्टीभित्रको शक्ति संघर्षले नयाँ रूप लिएको छ ।
विशेष महाधिवेशनबाट सुरु भएको विवाद नियमित महाधिवेशन हुँदै अहिले समानान्तर महाधिवेशनसम्म पुगेको छ ।
आयोगले यसअघि गगन पक्षलाई दिएको मान्यताविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो ।
अदालतले पुनरावलोकनको निस्सा दिएपछि विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेको छ । तर आयोगको पछिल्लो निर्णयले गगन नेतृत्वलाई संस्थागत रूपमा थप बल पु¥याएको देखिन्छ ।
यता शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
गगन पक्षले त्यसमा सहभागी हुने नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
यसले विवादलाई नेतृत्वको प्रतिस्पर्धाबाट संगठनात्मक द्वन्द्वमा रूपान्तरण गर्ने जोखिम बढाएको छ । पार्टीको नाम एउटै, झन्डा उही, इतिहास समान । तर नेतृत्व दुईतिर । यो सामान्य गुटबन्दी होइन । पार्टीको अस्तित्व र भविष्यसँग जोडिएको संकट हो ।
कांग्रेसभित्रको यो द्वन्द्वको सबैभन्दा ठूलो मूल्य पार्टीले आसन्न निर्वाचनमा चुकाउनुपर्ने हुन सक्छ ।
स्थानीय र प्रदेश तहमा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसका नेता तथा कार्यकर्ता दुई कित्तामा विभाजित हुनु भनेको आफ्नै संगठनको शक्ति कमजोर बनाउनु हो ।
वडा तहदेखि केन्द्रसम्म दुईवटा समानान्तर संरचना निर्माण भए त्यसको असर उम्मेदवार छनोट, चुनावी परिचालन, आर्थिक स्रोत र मतदातासँगको सम्बन्धसम्म पुग्नेछ । कांग्रेसको परम्परागत मताधारसमेत विभाजित हुन सक्छ ।
गगन थापा नेतृत्वले परिवर्तन र पुस्तान्तरणको सन्देश दिएको छ । पुरानो नेतृत्वप्रति बढेको असन्तुष्टिलाई सम्बोधन गर्ने अवसर पनि उसले पाएको छ ।
तर नयाँ नेतृत्वको वास्तविक परीक्षा विरोधी पक्षलाई कारबाही गरेर होइन, असन्तुष्ट पक्षलाई समेटेर पार्टी सञ्चालन गर्न सक्ने क्षमताबाट हुनेछ ।
अर्कोतर्फ देउवा पक्षले पनि लामो राजनीतिक अनुभव र संगठनमाथिको प्रभावलाई पार्टी विभाजनको औजार बनाउनु हुँदैन । नेतृत्वको असहमति समाधान गर्ने अन्तिम उपाय विभाजन होइन ।
कांग्रेस कमजोर हुँदा त्यसको राजनीतिक लाभ कसलाई पुग्छ भन्ने प्रश्न पनि अहं हो । अहिलेको अवस्थामा यसको प्रत्यक्ष लाभ राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुग्न सक्छ ।
परम्परागत दलप्रति असन्तुष्ट मतदाताको ठूलो हिस्साले नयाँ विकल्प खोजिरहेको छ । रास्वपाले त्यही मनोविज्ञानलाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्न सक्छ ।
अर्कोतर्फ कम्युनिस्ट धारका दलले पनि कांग्रेसको कमजोर संगठनबाट फाइदा लिन सक्छन् । तर कांग्रेसको विभाजनबाट स्वतः कुनै अर्को दल बलियो हुन्छ भन्ने ग्यारेन्टी छैन । त्यसका लागि वैकल्पिक शक्तिले पनि आफ्नो राजनीतिक विश्वसनीयता प्रमाणित गर्नुपर्नेछ ।
एमालेको अवस्था पनि कम जटिल छैन । विगतमा संगठनात्मक अनुशासन र बलियो नेतृत्वको परिचय बनाएको एमाले अहिले आन्तरिक शक्ति संघर्ष, नेतृत्वको प्रभाव र राजनीतिक भविष्यको अन्योलबाट मुक्त देखिँदैन ।
कांग्रेसको संकटलाई आफ्नो अवसर ठान्ने एमाले आफैँभित्रको समस्या समाधान गर्न असफल भयो भने त्यो अवसर पनि गुम्न सक्छ । जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्ने र पुरानै राजनीतिक शैलीमा रमाउने दलहरूका लागि अबको राजनीति सहज हुने छैन ।
मधेशकेन्द्रित दलहरूको अवस्था पनि उत्साहजनक छैन । लामो समयदेखि मधेशको मुद्दा र पहिचानको राजनीतिमा प्रभाव जमाएका दलप्रति आम मतदाताको आकर्षण कमजोर भएको छ ।
नेतृत्वको स्वार्थ, सत्ता समीकरण र टुटफुटले उनीहरूको विश्वसनीयता खस्किएको छ । यसले नेपालको राजनीति मूलतः तीन धारमा विभाजित हुने सम्भावना देखाउँछ– पुराना दलको पुनर्संरचना, नयाँ शक्तिको विस्तार र कम्युनिस्ट राजनीतिको नयाँ समीकरण ।
यसैबीच भ्रष्टाचार र अनियमितताका प्रकरणले राजनीतिक वातावरणलाई थप तरंगित बनाएका छन् ।
इनम सापकोटा प्रकरणपछि मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको अर्बौं रुपियाँको असुली प्रकरण सार्वजनिक भएको छ ।
दुई पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानको दायरामा आएका छन् ।
श्रमिकको बाध्यतालाई व्यापार बनाउने र त्यसबाट अर्बौं रुपियाँको कारोबार गर्ने प्रवृत्ति आफैँमा गम्भीर अपराधको विषय हो । तर अनुसन्धानको दायरा कति निष्पक्ष र व्यापक हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
यही प्रकरणमा तत्कालीन श्रममन्त्री तथा हालका सभामुख डीपी अर्याल र राजेन्द्रसिंह भण्डारीबारे प्रश्न उठिरहेको छ । उनीहरूलाई किन अनुसन्धानको दायरामा ल्याइएन भन्ने जिज्ञासा सार्वजनिक भएको छ ।
यसले सरकारमाथि चयनमुखी अनुसन्धान गरेको आरोप लाग्ने अवस्था छ । यद्यपि अनुसन्धानमा नतानिनु नै कसैको दोष प्रमाणित हुनु वा उन्मुक्ति पाउनु होइन ।
सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्छ । दोषी जोसुकै होस्, अनुसन्धानको दायरामा ल्याइनुपर्छ । राजनीतिक निकटताका आधारमा कसैलाई जोगाउने र कसैलाई मात्र निशाना बनाउने प्रवृत्ति देखियो भने सुशासनको दाबी कमजोर हुनेछ ।
भ्रष्टाचारविरुद्धको अभियान प्रतिशोधको माध्यम बन्नु हुँदैन । बरु राज्यको निष्पक्षता प्रमाणित गर्ने अवसर बन्नुपर्छ ।
विगतका सरकारका निर्णयको छानबिन गर्दा वर्तमान सरकारका निर्णय पनि प्रश्नभन्दा माथि रहन सक्दैनन् । सुशासनको पहिलो सर्त नै जवाफदेहिता हो ।
अहिलेको राजनीतिक परिदृश्यमा सबैभन्दा रोचक पक्ष भनेको नयाँ शक्तिको उदय र पुराना शक्तिको अस्तित्व संकट हो । बालेन नेतृत्वको सरकारप्रति जनताको अपेक्षा ठूलो छ ।
तर अपेक्षाको उचाइसँगै सरकारको जवाफदेहिताको भार पनि बढेको छ । भ्रष्टाचारका प्रकरणमा निष्पक्षता, प्रशासनमा पारदर्शिता र राजनीतिक निर्णयमा परिपक्वता देखाउन नसके नयाँ शक्तिप्रतिको आकर्षण पनि क्रमशः कमजोर हुन सक्छ ।
पुराना दलको असफलताले मात्र नयाँ दल सफल हुँदैनन् । नयाँ दलले आफ्नै कार्यक्षमताबाट विश्वास जित्नुपर्छ ।
नेपालको राजनीति अहिले केवल सरकार र प्रतिपक्षबीचको प्रतिस्पर्धामा सीमित छैन । यो पुरानो राजनीतिक संस्कार र नयाँ राजनीतिक अपेक्षाबीचको संघर्ष पनि हो ।
कांग्रेसको विभाजनले लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर बनाउन सक्छ । एमालेको आन्तरिक अन्योलले कम्युनिस्ट राजनीतिको भविष्यलाई प्रभावित गर्न सक्छ ।
रास्वपाले प्राप्त गरेको जनसमर्थनलाई संस्थागत गर्न नसके नयाँ विकल्पप्रतिको विश्वास पनि डगमगाउन सक्छ ।
अन्ततः नेपालको राजनीतिले कुन दिशा लिन्छ भन्ने कुरा कुनै एउटा दलको विभाजन वा अर्को दलको उदयले मात्र निर्धारण गर्ने छैन । राजनीतिक दलहरू आफ्नो आन्तरिक लोकतन्त्र कति बलियो बनाउँछन्, सरकार कति जवाफदेही हुन्छ र राज्यका संस्थाहरू कति निष्पक्ष रहन्छन् भन्ने कुराले त्यसको दिशा तय गर्नेछ ।
अहिले कांग्रेसले आफूलाई बचाउने कि विभाजनको बाटो रोज्ने भन्ने निर्णायक घडी आएको छ ।
एमालेले आफूलाई पुनर्गठन गर्ने कि पुरानै शक्ति संघर्षमा अल्झिरहने भन्ने प्रश्न छ । नयाँ शक्तिले जनताको भरोसा जोगाउने कि सत्ताको अहंकारमा हराउने भन्ने परीक्षा छ ।
देशलाई चाहिएको राजनीतिक दलहरूको आपसी विनाश होइन, स्वस्थ प्रतिस्पर्धा र उत्तरदायी शासन हो ।
किनभने दलहरू कमजोर हुँदा लोकतन्त्र बलियो हुँदैन । सरकार शक्तिशाली हुँदैमा राज्य बलियो हुँदैन ।
राज्य बलियो हुन संस्थाहरू निष्पक्ष हुनुपर्छ । राजनीति बलियो हुन जनताको विश्वास जीवित रहनुपर्छ । यही नै अहिलेको नेपाली राजनीतिको सबैभन्दा ठूलो परीक्षा हो ।

प्रकाशित मिति : ११ मंसिर २०८३, बिहिबार  ९ : ०५ बजे