काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र कुमार खेतानको पनि उपस्थिति थियो ।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।








प्रतिक्रिया