Logo

Breaking News 1

न्याय माग्न उर्लिएको भीडबाटै क्रुर अपराधको शिकार भएकी प्रहरी जवान उर्मिला !



काठमाडौं । मोरङको लेटाङमा एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाले उग्र रुप लिँदा आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो ।

५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी तथा स्थानीयले शिक्षकलाई आफूहरुले नै कारबाही गर्न पाउनुपर्ने माग गर्दै प्रहरीमाथि आक्रमण गर्दा उक्त घटना घटेको हो ।

प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएपछि शिक्षकलाई आफूहरुको जिम्मा लगाउनुपर्ने स्थानीयको माग प्रहरीले अस्वीकार गर्दा जघन्य घटना घट्यो । प्रहरीले आफूले नियन्त्रणमा लिएको व्यक्तिलाई स्थानीयलाई सुम्पन कुनै हालतमा मिल्दैन थियो पनि । तर, यही कुरालाई न्याय माग्न निस्केको भीडले बुझ्न सकेन र उल्टै प्रहरीको हत्या जस्तो क्रुर अपराध गर्यो ।

आरोप लागेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीले गर्नुपर्ने थप कारबाही अनुसन्धानपछि अगाडि बढाउछ । तर, यो कुरालाई भीडले बुझेन वा बुझेर पनि बुझ पचायो खै ? न्याय माग्ने नाममा अपराध गर्ने अधिकार भीडलाई पक्कै पनि छैन ।

पीडितले न्याय नपाउने हो कि भन्ने आशंका गर्नु कारबाहीका लागि दबाव दिनु स्वभाविक मान्न सकिन्छ । तर, यसका लागि सर्वप्रथम प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्छ, कानूनलाई काम गर्न दिनुपर्छ । न्याय अन्याय छुट्याउने काम कानूनको हो न कि कुनै भिडको ।

कतिपय घटनाहरुमा पीडकलाई बचाउनका लागि राजनीतिक पहुँच लगायतका आधारमा अनेक गतिविधी गरिएका कुरालाई नकार्न भने सकिँदैन । तर, आइतबारको घटना यहाँसम्म पुगिसकेको थिएन । आरोपीलाई आफैँ ‘सजाय’ गर्ने भन्दै भीडको आक्रोशले सीमा नाघेर प्रहरीमाथि नै आक्रमण थाल्यो । भीडका कतिपयले घरेलु हतियारले प्रहरीमाथि आक्रण गरेका थिए ।

स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार ग¥यो । दोहोरो भिडन्तमा भीडलाई सम्हाल्न उर्मिला पनि लागिपरेकी थिइन् । तर एक्कासी उनीमाथि नै छुरा प्रहार भयो । उनको घाँटी र छातीमा छुरा प्रहार भयो । उनको घटनास्थलमै धेरै रगत बगिसकेको थियो । उनलाई अस्पताल लैजाने क्रममा नै उनको मृत्यु भयो । यसरी न्याय माग्न निस्केको भीडले नै क्रुर अपराध गर्यो ।

देश र जनताको सेवा गर्छु भनेर तीन वर्षअघि प्रहरीमा भर्ती भएकी खोटाङकी उर्मिलाको ज्यान गयो । २६ वर्षीय उर्मिलाले २०७६ साउन १ गते प्रहरीको जवान पदमा सेवा प्रवेश गरेकी थिइन् ।

उनको दरबन्दी प्रदेश-१ सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा थियो । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो । तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन ।

लेटाङको माहोल तनावग्रस्त भएपछि शान्त पार्न भन्दै रानीबाट ५० जनाको थप फोर्स लेटाङमा पठाइएको थियो । जसमा उर्मिला पनि थिइन् । लेटाङको इलाका प्रहरी कार्यालयको टोलीलाई थप फोर्स आवश्यक परेको कारण उनीहरु त्यहाँ पुगेका थिए ।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो । उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन् । उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन् ।

प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो घटनामा चासो देखाउँदै आज मोरङ पुगेर घटनामा संलग्न जो कोहि भएपनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ०२ बजे