Logo

प्रदेश

जनमत पार्टी मधेस प्रदेशमा विवादको सिर्जना



जनकपुर । जनमत पार्टी मधेस प्रदेशमा विवाद सृजना भएको छ । प्रदेश सरकारमा एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्री रहेको जनमत पार्टी दुई टुक्रामा बाँडिएको छ ।

सोमबार जनमत पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । तर प्रदेश प्रमुख कार्यालयले अहिले सम्म कुनै औपचारिक पत्र सार्वजनिक भने गरेको छैन ।

यता, जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता एवम् मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले आज प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै, सरकारलाई दिइएको समर्थन यथावत् रहेको जानकारी गराएका छन् । 

उनले आफू दलको नेता रहेको र आफ्नो जानकारी बिना र नबोलाएको संसदीय दलको बैठकको कुनै पनि निर्णय आधिकारिक नरहेको स्पष्ट पारेका छन् । उनले वर्तमान मधेस प्रदेश सरकारको मुख्यमन्त्री कृष्णा प्रसाद यादवको नेतृत्वको सरकालाई जनमत पार्टीको आधिकारिक समर्थन रहेको जानकारी गराएका छन् ।

जनमत पार्टीका कुल १३ प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये बबिता इशर राउत उपसभामुख पदमा छन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै पदबाट राजीनामा दिई छुट्टै पार्टी खोलेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ११ : ०९ बजे