Logo

अर्थ

निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन् ।

अध्यक्ष ढकालले महासंघकै माग र पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिए । उनका अनुसार पूराना र बाधक कानुनहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउन यो आयोगले महत्वपूर्ण भूमिका खेल्नेछ ।

‘निजी क्षेत्र पूर्ण रूपमा निराश हुनुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘हामीले दिएका सुझावहरूमध्ये करिब ३० वटा कानुन, नियमावली र कार्यविधिहरू परिवर्तन भइसकेका छन् भने कतिपय परिवर्तनको प्रक्रियामा छन् ।’

विगतमा राजनीतिक अस्थिरताका कारण कतिपय काम हुन नसके पनि अब स्थिर सरकारसँगै ती समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै महासंघकी पूर्वअध्यक्ष भवानी राणाले वर्तमान अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताइन् । विशेषगरी अन्तर्राष्ट्रिय संकटले नेपाली अर्थतन्त्रमा पारेको असरबारे उनले चिन्ता व्यक्त गरिन् ।

पूर्वअध्यक्ष राणाले भनिन्, ‘अन्तर्राष्ट्रिय संकटका कारण रेमिटेन्स (विप्रेषण) प्रवाहमा कमी आउन सक्छ । यदि विदेशमा रहेका नेपाली कामदारहरू ठूलो संख्यामा फर्किए भने उनीहरूलाई रोजगारी दिनु राज्यका लागि ठूलो चुनौती हुनेछ।’ उनले बढ्दो महँगी र विश्वव्यापी आर्थिक मन्दीको प्रभावबाट जोगिन पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ८ : ०७ बजे