Logo

मुख्य समाचार

किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद



रामेछाप । मानव बस्ती पातलिँदै र जङ्गल क्षेत्र बढ्दै जाँदा गाउँघरमा बस्ने मानिसहरूलाई सबैभन्दा बढी चिन्ता बाँदर नियन्त्रणको भएको छ ।

गाउँमा लगाएको बाली बाँदरले नष्ट पार्न लागेपछि धेरै गाउँका स्थानीयले बाली नै लगाउन छाडेका छन् । बाली लगाउने किसानलाई यतिबेला सबैभन्दा बढी चिन्ता कसरी बाली जोगाउने भन्ने छ ।

बाँदरले बाली लगाएर खान नदिएपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदर नियन्त्रण गर्ने समिति नै बनेको छ । वडा कार्यालयको अगुवाइमा बाँदर नियन्त्रण गर्ने समिति बनाइएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताए ।

यदि बाँदर नियन्त्रण र व्यवस्थापन गर्न नसक्ने हो भने देशका ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था बनेको श्रेष्ठले बताए । चिसापानीका सबै किसानहरूको भेला बोलाएर बाँदर व्यवस्थापन र नियन्त्रण समिति बनाइएको श्रेष्ठले जानकारी दिए ।

कृषिको लागि सरकाले सहयोग गरेको भएपनि किसानले बाली लगाएर खान नसक्ने अवस्था भएको उनले बताए । त्यसैले यसको लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।

बाँदर समाते बापत वडाले बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैँया वडाले दिने गरेको पनि उनले जानकारी दिए । बाँदर समातेर रङ्ग लगाएर छाड्ने लगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

बढ्दो जंगलको कारण बाँदर नियन्त्रणमा निक्कै असहज भएको स्थानीयको भनाइ छ । ‘बाँदर रुखको टुप्पामा पुग्छ, बूढाबूढीले त धपाउनै सकिँदैन’, स्थानीयले भने ।
त्यसलाई नियन्त्रण गर्न बारी काल्नाका रुखहरू काँटछाँट गर्ने कार्यक्रम समेत सो वडाले अघि सारेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘बारी काल्नाहरु नै जङ्गल जस्ता भइसके, त्यसैले बाँदर त्यहीँ बस्न लागे, यसलाई निमन्त्रण गर्न हामीले बारी काल्नाका रुख पात काँटछाँट र पतल्याउने कार्यक्रम पनि अघि सारेका छौँ’, श्रेष्ठले भने ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १ : २३ बजे