Logo

अर्थ

लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन


२७ आश्विन २०८३, मंगलबार  

0
Shares

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ । लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो । 

स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको उपयोग गर्ने उद्देश्यले सुरु गरिएको यस उद्योगले गाउँमै आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गरी नगर निर्माणको अभियानमा इँटा थप्ने विश्वास लिइएको छ ।

नगरप्रमुख अमरबहादुर खड्काले लामो प्रयास र प्रयत्नको सार्थक परिणामस्वरुप कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याइएको बताए । पालिकाको पहलमा स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सफलतापूर्वक सुरु भएको उनले जानकारी दिए ।

उनले भने, ‘परम्परागत कोदोलाई आधुनिक र पौष्टिक बिस्कुटमा रूपान्तरण गर्दै यो उद्योगले स्थानीयस्तरमा नयाँ अवसरहरू ल्याउने विश्वास लिएका छौं। ट्रेमा तयार पारिएका कोदोका यी स्वादिष्ट बिस्कुटहरू आत्मनिर्भर नगर निर्माणको दिशामा हाम्रो एक महत्त्वपूर्ण कोसेढुङ्गासमेत हुन्।’

परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोलाई बिस्कुटमा रूपान्तरण गरी बजारसम्म पुर्‍याउने योजनाले स्थानीय किसान, उद्यमी र रोजगारीको खोजीमा रहेका नागरिकका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

्‌साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने र बाह्य उत्पादनमाथिको निर्भरता घटाउने विश्वास लिइएको छ । उद्योगको परीक्षण उत्पादनपछि गुणस्तर, बजारको माग र व्यावसायिक सम्भावनालाई ध्यान दिँदै उत्पादनलाई थप व्यवस्थित बनाउन सके कोदोले उचित बजार पाउने देखिएको छ ।

यद्यपि, परीक्षण उत्पादनको गुणस्तर, स्वाद, लागत र बजार मागका आधारमा यसको व्यावसायिक उत्पादनको सम्भावना निर्धारण हुनेछ । यसका लागि आवश्यक प्रविधि, गुणस्तर नियन्त्रण र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

स्थानीय स्रोतसाधनको उपयोग गर्दै कोदोलाई नयाँ खाद्य परिकारका रूपमा बजारसम्म पुर्‍याउने यो प्रयासले बाजुराको कृषि तथा उद्यम विकासमा नयाँ सम्भावनाको ढोका खोल्न सक्नेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ८ : २१ बजे