काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका बिशाल खड्का यतिबेला चुनावी दौडधुपमा छन् ।
छ महिनाको उमेरमै आमाको काखबाट छुटिनुपरेको पीडा, जनयुद्धको संघर्ष, जेल जीवन र शहीद परिवारको पृष्ठभूमिका कारण खड्का राजनीतिमा खारिएका पात्रका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफ्नो राजनीतिक यात्रा जन्मेदेखि नै सुरु भएको बताए । छ महिनाको उमेरमै पूर्वी नेपालको किसान आन्दोलनका क्रममा आफ्नी आमाको गिरफ्तारी भएपछि झण्डै दुई हप्ता आमाको दूध चुस्न नपाएको वाल्यकालिन स्मरण सुनाएका उनले राजनीतिमा गहिरो चेतना रहेको समेत बताए ।
उनका दाजु ज्ञानबहादुर खड्का पञ्चायतविरोधी आन्दोलनका क्रममा जेलमै हत्या भएको थियो भने अर्का दाजु रितबहादुर खड्का ०५२ सालमा सुरु भएको जनयुद्धका क्रममा शहीद भएका थिए । राजनीतिकै कारण परिवारिक बज्रपात व्यहोर्नु परेकाले राजनीतिबाट कहिल्यै अलग हुन नसक्ने गरी बाँधिदिएको खड्काको भनाइ छ ।
खड्काका अनुसार, पूर्वी नेपालको किसान आन्दोलनसँग जोडिएको मुद्दामा आमा पक्राउ परेकी थिइन् । ‘म छ महिनाको हुँदा झण्डै दुई हप्ता आमाको दूध खान पाइँन । आमाको काखबाट वञ्चित हुनुपर्यो । त्यो अवस्था मेरो चेतनाभन्दा बाहिर भएपनि जीवनको यथार्थ त्यही थियो । म जन्मिँदै पञ्चायतविरोधी आन्दोलनको रगतसँग जोडिएको छु । ति बलिदानहरूले मलाई राजनीतिबाट कहिल्यै भाग्न नसक्ने गरी बाँधिदिए’उनले भने
०५२ सालमा एसएलसी दिएलगत्तै जनयुद्धमा समाहित भएका खड्काले आठ वर्ष जेल जीवन समेत बिताएका छन् ।
युवाकालमै भूमिगत राजनीति र संघर्षको अनुभव सँगालेका खड्काले लोकतन्त्र नेपालको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई एकअर्कासँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे ।
राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउनदेखि संविधान लेख्नेसम्मको सफलता प्राप्त भएपनि राजनीतिक परिवर्तनअनुसार आर्थिक रूपान्तरण हुन नसकेको उनले स्वीकार गरे ।
उनले भने, ‘हाम्रो पुस्ताले १६–१७ वर्षकै उमेरमा भूमिगत भएर देशको भविष्यका लागि लड्यो । हामीले राजतन्त्रको अन्त्य ग¥यौँ, गणतन्त्र ल्यायौँ र संविधान लेख्यौँ। यस्ता राजनीतिक उपलब्धि भए पनि जनताको जीवनस्तर अपेक्षित रूपमा परिवर्तन हुन सकेको छैन ।’
नेपाल सानो र गरिब भएकै कारण केही गर्न सकिँदैन भन्ने मानसिकता गलत भएको खड्काको भनाइ छ । उनले योग्य जनशक्ति विदेशिनु मुलुकको ठूलो समस्या भएको उल्लेख गर्दै रोजगारी सिर्जना र उत्पादन बढाउने नीतिमा जोड दिए।
‘नेपाल जनसंख्याका हिसाबले करिब ५०औँ र भूगोलका हिसाबले ९०औँ स्थानमा पर्छ । समस्या देश सानो हुनु होइन, उत्पादनमुखी अर्थतन्त्र नहुनु हो । राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका विषय हुन्’ उनले भने ।
दोलखालाई जलविद्युतको राजधानी भनिएपनि स्थानीय जनताको जीवनस्तर कमजोर रहेको उल्लेख गर्दै खड्काले संघीय संसदमा दोलखाली जनताको आवाज बलियो बनाउने प्रतिबद्धता जनाए।
‘लोडसेडिङ अन्त्यमा दोलखाको ४० प्रतिशतभन्दा बढी योगदान छ,’ उनले भने, तर दोलखाली जनताले अझै उज्यालो जीवन पाएका छैनन् ।’ पार्टीभित्र आत्मसमिक्षा गरेर नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै उनले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुने धारणा राखे ।
प्रदेश सरकारमा मन्त्री भएर काम गरेको अनुभव रहेको उल्लेख गर्दै खड्काले आफू नयाँ र अनुभवी पनि भएको बताए । खड्काले संवाद, सहकार्य र जन सल्लाहमा आधारित राजनीति आफ्नो कार्यशैली हुने बताउँदै दोलखालाई नमुना जिल्लाका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । विकास आश्वासन होइन, निकास हुनुपर्ने उनको भनाई छ ।
‘मैले प्रदेशमा रहेर मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यो अनुभवले संघीय संसदका लागि अझ तयार बनाएको छ । दोलखा जिल्ला सांस्कृतिक हिसाबले र प्राकृतिक रूपमा जुन असाध्यै सम्भावना रहेको, राजधानीबाट असाध्यै नजिक भएको जिल्ला पनि आज दुर्गम क्षेत्र जस्तो साबित भइरहेको छ ।
विकासको हिसाबले असाध्यै पछाडि परिरहेको छ,’ उनले भने ,‘यसलाई एउटा नमुना जिल्लाको रूपमा विकास गर्ने र राम्रो जनप्रतिनिधिको रूपमा सबैको भावना बुझ्ने, सबैको सल्लाह सुझावमा हिँड्ने र म सहकार्यमा राजनीतिमा संवाद, विकासमा निकास भन्ने एउटा नारालाई बोकेर हिँडेको छु । म संवादमा विश्वास गर्छु त्यसैले, सबैको संवादबाट हामीले अगाडि बढ्ने र विकासको लागि आश्वासन मात्र होइन निकासको लागि निकासमुखी विकास बोकेर हिँड्नुपर्छ ।’
‘त्यसैको जगमा टेकेर नै हामीले दोलखाको विकासको आधार खोजी गर्नुपर्छ । सम्भावनाहरुका ढोकाहरु खोल्नुपर्ने हुन्छ । त्यही प्रक्रियामा नै म अगाडि लाग्ने मेरो प्रतिबद्धता पनि रहेको छ,’ उनले भने ।
त्यस्तै उनले केपी ओली नेतृत्वको सरकार असफल भएको कारणले देशले चुनाव थेग्नुपरेको बताउँदै ओली नेतृत्वको सरकार असफल भएपनि पूराना दलहरु सबै असफल नभएको टिप्पणी गरे ।
उनले भने,‘हामीलाई त यो चुनाव चाहिएकै थिएन । ०८४ को चुनाव चाहन्थ्यौं । तर आज केपी ओली नेतृत्वको सरकार असफल भएको कारणले चुनाव देशले थेग्नु परिरहेको छ । ओली नेतृत्वको सरकार असफल भयो, पूराना दलहरु सबै असफल भएका होइनन् ।’
‘उहाँहरु रुपान्तरण हुन चाहनुभयो त?केपी ओली प्रवृत्तिले सबै दलहरु एउटै हुन् कि क्या हो भनेर पुराना दलहरुलाई त्यही बास्केटमा हालेर गालीगलौज गरेको मैले सुनिरहेको छु । हामीलाई फरक ढंगले हेरिनु पर्छ । एउटै डालामा हालिएको छ, यो गलत छ जस्तो लाग्छ ।’
देशमा व्याप्त निराशा चिर्ने, आशालाई बलियो बनाउने र समतामूलक समृद्धिको आधार निर्माण गर्ने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको खड्काले बताए। -प्रमिला कार्की, नेपाल न्यूज बैंक










प्रतिक्रिया