काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको व्यक्तिहरु विभेदका कारण स्वास्थ्य संस्थासम्म सेवा लिन जान आनाकानी गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् ।
शुक्रबार काठमाडौंमा सेभ द चिल्ड्रेन्टको सहयोगमा नील हिरा समाजले आयोजना गरेका आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका वालबालिका तथा युवाहरुको शिक्षा र स्वास्थ्य अवस्थाबारे छलफल कार्यक्रमका वक्ताहरुले अस्पतालमा गरिने विभेद् र हिंसा रोक्नुपर्ने बताएका हुन् । विभेदकै कारण समूदायका व्यक्तिहरु स्वास्थ्य संस्थामा नजाँदा जोखिम बढेको पनि उनीहरुले बताए ।
कार्यक्रममा प्रस्तोता पुष्पा जोशीले अस्पतालमा गरिने ब्यवहार र सोधिने प्रश्नहरुबाटै समूदायका व्यक्तिहरु विभेदमा पर्ने गरेको बताइन् । ‘अस्पतालमा जाँदा बिहे गरेको छ कि छैन ? यौनाङ्ग कस्तो छ ? कसरी यौन सम्पर्क गर्छौ भनेर चिकित्सकहरुले सोध्ने गरेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ । जसका कारण हेल्थ सर्भिस सेन्टरमा जाँदै नजाने घटना बढेको छ,’ जोशीले भनिन् ।
त्यस्तै उनले पाठेघर र योनी हुँदैमा महिला नै पहिचान हुन जरुरी नरहेको धारणा राखिन् । उनले भनिन्,‘पाठेघर हुँदैमा महिला भनेर पहिचान गर्न जरुरी छैन । योनी हुँदैमा महिला नै पहिचान हुन जरुरी छैन । महिलावादी सिद्धान्तलाई बढी प्राथमिकता दिएको पाइएको छ,’ अगाडि भनिन्,‘हस्पिटलमा बिहे गरेको छ कि छैन ? यौनाङ्ग कस्तो छ ? कसरी यौन सम्पर्क गर्छौ ? भनेर चिकित्सकहरुले सोध्ने रहेछन् जसका कारण हेल्थ सर्भिस सेन्टरमा जाँदै नजाने घटना बढेको छ ।’
त्यस्तै उनले स्वास्थ्यको अधिकारबाट नै बन्चित हुनुपर्ने अवस्था रहेको भन्दै यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताइन् ।
समूदायका धेरै जनालाई एन्जाइटी र मेन्टल हेल्थको समस्या पनि देखिएको बताइन् । स्वास्थ्यका क्षेत्रमा सन्धी महासन्धि भएपनि धेरै कुरामा परिवर्तन हुन जरुरी देखिएको उनले ठम्याई छ ।
उनले विद्यालय एवम विश्वविद्यालयको पाठ्यक्रमलाई परिमार्जन गरिनुपर्ने, पहुँचयोग्य पूर्वाधार र सेवा विस्तार गरिनुपर्ने, हर्मोन थेरापी एवम सर्जरीलाई सहज बनाइनुपर्ने, कानुनी अवरोधहरुलाई हटाइनुपर्ने सुझाव दिइन् ।
त्यस्तै स्वास्थ्य परिवार कल्याण महाशाखा शाखा प्रमुख तथा वरिष्ठ नर्सिङ प्रशासक शर्मिला दाहाल पौडेलले चिकित्सकहरुले कसरी ब्यवहार गर्ने भन्ने विषयमा गाइडलाइन बनाएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।
माथिल्लोदेखि तल्लो तहसम्मका ब्यक्तिहरुलाई समूदाय प्रतिको दृष्टिकोण बुझाउनु पर्ने र भइरहेको पाठ्यक्रम, तालिमका विषय वस्तुहरुलाई समयसापेक्ष बदल्दै लानुपर्ने उनको भनाई छ । त्यस्तै अर्का प्रस्तोता समन जैसीले जन्मदा महिलाको यौनाङ लिएर जन्मने ब्यक्ति हरुको अवस्था कस्तो छ भनेर आफूले अध्ययन सुनाए ।










प्रतिक्रिया