Logo

Breaking News 1

हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँचजना पक्राउ


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

मकवानपुर । मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराका अनुसार आन्दोलनकाक्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गर्ने घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको हो ।

दुवैजनामाथि आपराधिक उपद्रव तथा लुटपाट सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको बोहोरा बताउँछन् । त्यस्तै, सोही दिनको आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

तीमध्ये सर्लाही बरथवा नगरपालिका–१ निवासी २७ वर्षीया पुनम ठाकुर, उही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ निवासी ४३ वर्षीय सागर घताने (रोम बहादुर घताने) रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका ती तीनजनामाथि पनि आवश्यक कानुनी कारवाही अघि बढाइएको छ ।

गत भदौ २४ गतेको जेन जेड आन्दोलनका क्रममा हेटौंडा क्षेत्रमा भएको ती घटनापछि प्रहरीले निगरानी र अनुसन्धानलाई तीव्र पारेको जनाएको छ । प्रहरी उपरीक्षक बोहोरा भन्छन्, ‘आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने कार्य कानुनविपरीत हो। यस्ता घटनामा संलग्न जो कोहीमाथि कानुनी कारवाही हुनेछ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ८ : ४० बजे