Logo

Breaking News 1

पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब नाघ्यो, निर्यात हिस्सेदारी १३.४६ प्रतिशतमा पुग्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०८१÷८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो । गत वर्ष असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै, निर्यात व्यापारमा समेत उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष निर्यात ३८ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो ।

आयात–निर्यात दुवै बढे पनि निर्यातको उच्च वृद्धि दरका कारण व्यापार घाटाको वृद्धिदर केही नियन्त्रणमा आएको छ । यस वर्ष असोजसम्म ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत वर्ष यो घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।

निर्यातको योगदान बढ्दै
अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको भन्सार विभागले जनाएको छ । केवल असोज महिनामा मात्र १ खर्ब ६३ अर्ब रुपैयाँको आयात र २५ अर्ब रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।

विश्लेषकहरूका अनुसार चाडबाडको सिजनका कारण उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र इलेक्ट्रोनिक सामानहरूको माग बढ्दा आयातमा वृद्धि भएको हो भने कृषिजन्य र उत्पादनमूलक वस्तुको निर्यातले व्यापार सन्तुलनमा आंशिक सुधार ल्याएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ५७ बजे