Logo

Breaking News 1

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबै नेपालीलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले मौलिक इतिहास बोकेको यो सम्वत्ले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन् ।

सभामुखले जारी गरेको सन्देशमा युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न आवश्यक भएको उल्लेख गरेका छन् । ‘ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व अपरिहार्य छ,’ सन्देशमा भनिएको छ ।

‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो,’ सभामुख घिमिरेले भने, ‘राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गर्नुभएको ऐतिहासिक सम्झनामा नेपाल सम्वत् मनाउने गरिएको हो ।’

उनले नेपाल सम्वत्को अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भरता र सुखी जीवनको कामना गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : २५ बजे