काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तिहार तथा नेपाल संवत ११४६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत सभापति खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र पर्वहरूको संगम भएको मुलुक भएकाले यसभित्रको सहिष्णुता र आपसी सद्भावले राष्ट्रिय एकता मजबुत भएको उल्लेख गरेका छन् । उनले तिहार पर्वले पारिवारिक, सामाजिक तथा मानवीय सम्बन्धहरूमा आत्मीयता र सुमधुरता थप्ने विश्वास व्यक्त गरे ।
नेपाल संवतको प्रसंग उल्लेख गर्दै खड्काले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकालका रूपमा स्मरण गरे । नेपाल संवत समाजसेवी शंखधर साख्वाद्वारा गरिब र पीडितहरूको ऋणमोचनबाट सुरु भएको सामाजिक जागरण भएको उल्लेख गर्दै उनले शंखधरको योगदानलाई ऐतिहासिक र प्रेरणादायी बताउँदै राष्ट्रिय विभूतिका रूपमा गरिएको सम्मानको स्मरण गरे ।
‘नेपाल संवत्ले हाम्रो मौलिकता र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि निरन्तर प्रेरणा दिइरहेको छ,’ खड्काले भनेका छन् । उनले अन्धकारमाथिको उज्यालोको विजयको प्रतीकको रूपमा मनाइने तिहार र आफ्नै पहिचान बोकेको नेपाल संवतको नयाँ वर्षले पारस्परिक एकता, सद्भाव र सामाजिक समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूलाई पुनः शुभकामना दिएका छन् ।
प्रतिक्रिया