काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३२ लाख बढीको कारोबार भएको छ ।
तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबारमात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए ।
मेलामा विशेष गरि गोदावरी, सयपत्रीको लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए । वर्षेनी गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताबिच थप समन्बन्ध विस्तार भई फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ ।
आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजूद पनि अवलोकनकर्ताहरुको घुँइचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको भनाइ छ ।
मेलामा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्शरी, दोस्रो माइ नर्शरी र तेस्रो आजिमा नर्शरी रहेका छन् ।
त्यसैगरी उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माइ नर्शरी, बेष्ट स्पाइडरमा सम्झना नर्शरी, बेष्ट इन्कर्भमा आजिमा नर्शरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्शरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्शरी र बेष्ट स्टलमा दिक्षा नर्शरीले उत्कृष्ट पुरस्कार पाएका छन् ।
नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले विस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो । २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायीक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको फ्यानको जनाएको छ । पुष्प खेती भईरहेको जिल्ला संख्या ५२ रहेको छ भने २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ ।
पुष्प क्षेत्रमा एक हजार २३५ भन्दा बढी पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको अवस्था छ भने पुष्प व्यवसायमा अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढी रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि अनुमानित ५३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार रहेको छ । पुष्पको वार्षिक कारोबार रु ३ अर्ब ३७ करोड रहेको फ्यानले जनाएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात कारोबार आ.व. ०८०÷८१ मा रु.१ करोड ०२ लाख १२ हजार कारोबार रहेकोमा आर्थिक बर्ष ०८१÷८२ मा १०९.१६% ले बृद्धि भई रु.२ करोड १३ लाख ६० हजार करोबार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आ.व. ०८०÷८१ को तुलनामा आर्थिक बर्ष ०८१÷८२ मा ५४.२७% ले आयात कारोबारमा कमी आई पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात कारोबार रु.१२ करोड ७० लाख ८९ हजार रहेको छ । अघिल्लो आ.व.मा रु.२७ करोड ७९ लाख ०५ हजार आयात कारोबार रहेको थियो । पुष्प तथा पुष्पजन्य वस्तुको बजार मागमा हरेक बर्ष १० देखि १५ प्रतिशतको दरले थपिने गरेको छ ।
प्रतिक्रिया