Logo

Breaking News 1

भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेलमा आज लिभुरा र बाम्ती भण्डार भिड्दै



रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा सञ्चालित २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेल आज दिउँसो १ बजेपछि सुरु हुँदैछ ।

अमृत घामछायाँ खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा लिखु भुजी युवा क्लब रामेछाप (लिभुरा) र रामेछापका बाम्ती भण्डार बिच हुने भएको छ । नौवटा टिमले भाग लिएको प्रतियोगितामा रामेछापकै दुईवटा टिम फाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैँया नगद, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले ६७ हजार ७ सय २७ रुपैँया नगद र रजत पदक पाउने भुजी फुटबल क्लबका अध्यक्ष शुभ राज सुनुवारले जानकारी दिए ।

सुनुवारको अध्यक्षतामा गत शुक्रबारबाट सुरु भएको खेलको उद्घाटन उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गरेकी थिइन् ।

उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी तथा स्थानीयवासीको सहभागिता थियो । भुजी लिग फुटबल स्थानीयस्तरमा खेलकुदको पहिचान स्थापना गर्ने सो क्षेत्रको परम्परागत उत्सवको रूपमा विकसित भइसकेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २७ बजे