काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारको धानमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यसहित बैंकले यो योजना सार्वजनिक गरेको हो।
बैंकका अनुसार योजनाअन्तर्गत कृषकहरूले धानको बीउ, मल, कृषि उपकरण लगायतका सामग्री खरिदका लागि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। खेतियोग्य जमिनको भरपुर उपयोग गर्दै कृषकको आम्दानी वृद्धि गर्ने तथा कृषि पेशालाई मर्यादित र व्यवसायिक बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

धान खेती कर्जा सार्वजनिकसँगै बैंकले असार १५ को अवसरमा टोखा नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर नजिकैको फाँटमा धान रोपाइँ कार्यक्रम समेत आयोजना गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी सहित बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा रेग्मीले सरकारले तय गरेको आत्मनिर्भरता रणनीति अनुसार धान उत्पादन वृद्धि र कृषिको व्यवसायीकरणमा बैंकको सक्रिय सहभागिता रहँदै आएको बताए। साथै उनले सार्वजनिक गरिएको कर्जाले कृषकलाई प्रोत्साहन गर्ने र उत्पादनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गरे।
बैंकले ग्राहकको आवश्यकता अनुसार समयसापेक्ष योजना ल्याउँदै आएको जनाएको छ। हालसम्म ग्लोबल आइएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरी ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
रेमिट्यान्स क्षेत्रमा पनि सक्रिय बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, साउदी अरब लगायतका देशहरूबाट रकम भित्र्याउँदै आएको छ।
हालै ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको मानपद प्राप्त गरेको छ।
प्रतिक्रिया