काठमाँडौ । नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले बैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयरहरू लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको छ।
इन्स्योरेन्सले माघ १७ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई लक्षित गर्दै फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ४:१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको थियो। सो अवधिमा आवेदन नपरेका हकप्रद शेयरहरू अब लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
यस लिलामीमा संस्थापक समूहका ४३,७७९.५२ कित्ता र सर्वसाधारण समूहका १,८१,४८१.८३ कित्ता शेयर समावेश छन्।
शेयर खरिदमा इच्छुक लगानीकर्ताले बैशाख २१ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। प्रति शेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढीमा बोलकबोल गर्नुपर्नेछ।
संस्थापक समूहतर्फको शेयर खरिदका लागि न्यूनतम १,००० कित्ताका दरले आवेदन दिनुपर्नेछ भने सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ता माग गर्नुपर्नेछ। सोभन्दा बढीका लागि भने सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।
सानिमा क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ। लगानीकर्ताले बोलपत्र सानिमा क्यापिटलको नक्साल वा विराटनगर कार्यालय तथा नेको इन्स्योरेन्सका विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर कार्यालयहरूमा पनि पेश गर्न सक्नेछन्।
प्रतिक्रिया