Logo

मुख्य समाचार

कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित


१६ कार्तिक २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । लाजियोले कोमोविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै ५–१ को जित हात पार्दै इटालियन सिरी ए तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । यस जितले लाजियोको सिजनको राम्रो लयलाई निरन्तरता दिएको छ, र यससँगै युभेन्टसलाई पछि पार्दै टोलीले महत्त्वपूर्ण तीन अंक बटुलेको छ ।

खेलको सुरुवात केही ढिलो गतिमा अघि बढ्यो, जहाँ दुवै टोलीले अवसर सिर्जना गर्न संघर्ष गरेका थिए । तर, २८ औं मिनेटमा अर्जेन्टिनी खेलाडी ताटी कास्टेलानोसको हेडर अल्बर्टो दोस्सेनाको हातमा लागेपछि रेफ्रीले पेनाल्टीको इशारा गरे ।

कास्टेलानोसले उत्कृष्ट संयम देखाउँदै गोलकिपर एमिल औडेरोलाई गलत दिशा पठाउँदै गोल गरेपछि लाजियोले अग्रता लिएको थियो ।

त्यसको ३ मिनेटपछि लाजियोका पेड्रोले टोलीको अग्रता दोब्बर बनाए । गुस्ताभ इसाक्सनले खेललाई बायाँ तर्फ पास गर्दै नुनो तावारेसलाई बल उपलब्ध गराए । तावारेसले उत्कृष्ट पास मार्फत स्पेनी खेलाडी पेड्रोले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा २ गोल गरेको लाजियोले दोस्रो हाफको सुरुमा भने १ गोल व्यहोरेको थियो । कोमोका लागि लुका माज्जिटेलीले उत्कृष्ट एक्रोब्याटिक प्रहार मार्फत गोल गर्दै ५३ औं मिनेटमा टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो । दुवै टोलीलाई १० खेलाडीमा सीमित भए । जब कोमोका मथियास ब्राउन्डेर र लाजियोकाका नुनो तावारेसले लगातार दोस्रो पहेंलो कार्ड पाएर मैदान बाहिरिए । कोमोका माथिस ६२ औं र लाजियोका नुनो ६५ औं मिनेटमा बाहिरिएका थिए ।

तर, कोमोले गोलको अवसर गुमाइरहेका बेला लाजियोले तीन गोल थप्दै आफ्नो अग्रतालाई फराकिलो बनायो । ७१ औं मिनेटमा प्याट्रिकले गोल गरेपछि लाजियो ३–१ ले अघि बढेको थियो ।

८१ औं मिनेटमा कास्टेलानोसले अर्को गोल थपेका थिए भने इन्ज्योरी टाइममा म्यानुअल लाज्जारीको काउन्टर–अट्याकमा लाउम चाउनाले गोल गर्दै टिमलाई ५–१ को फराकिलो जीत दिलाए । यस जितपछि लाजियो सिरी ए को तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : २८ बजे