Logo

मुख्य समाचार

सांसद भण्डारीको प्रश्न : सरकार के का निम्ति ? एनसेलबाट रकम असुली गर्नुपर्दैन ?



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौैं वक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एनसेलको वक्यौता रकम असुली गर्न पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरे ।

सांसद भण्डारीले एनसेल र विद्युत पैसा उठाउन नसकिने, जहाजहरु ग्राउन्डेट हुने लगायतका विषयहरु बाहिर आउँदा पनि सरकारलाई चिन्ता नभएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे । उनले प्रजातन्त्र केही सिमित व्यक्तिहरुको लुटतन्त्रमा परिणत भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सांसद भण्डारीले भने, ‘सधैं एनसेल । कहिले ६५ अर्ब तिरेन । कहिले विद्युतको पैसा तिरेन । कहिले के ? यो के नाटक हो ? यो के नाटक हुँदैछ ? त्यसकारण यसको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्छ । सरकारले यसको जवाफ दिनुपर्छ । एनसेलले पैसा तिर्नुपर्दैन ? जनतासँग पैसा लैजाने, चलाउने । जनतासँग पैसा लिएपछि सरकारले उठाउनु पर्दैन ? कुनै न कुनै गडबढी नभई बत्तिको बिल उठाउनु झगडा, पैसा तिर्नका निम्ति झगडा, प्लेनहरु ग्राउन्डेट हुने समस्या । के यो मुलुकमा सरकारलाई चिन्ता छैन ? सरकार के का निम्ति ? प्रजातन्त्र के का निम्ति ? केही सीमित व्यक्तिहरुलाई ब्रह्मलुट गर्नका लागि हो ? यो प्रश्न उठेको छ । म आदरणीय सभामुखमार्फत यसको जवाफ सरकारले तुरुन्त दिनुपर्छ । यसको रुलिङ पनि गर्नुपर्छ भन्ने म माग गर्न चाहन्छु ।’

विकास निर्माणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको सांसद भण्डारीले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ५६ बजे