Logo

समाचार

म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।

माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेकाले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने उनले स्पष्ट पारे । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।

कार्यकर्ता भेटघाटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, सिन्धुलीका सांसद लेखनाथ दाहाल, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायत सहभागी रहेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ११ : ३० बजे