काठमाडौं । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार, खोजी र शव व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
नुवाकोट, रसुवालगायतका जिल्लाहरूको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गर्दै उनले बाढी प्रभावित क्षेत्रहरूमा प्रहरीले गरिरहेको उद्दार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण लगायतका कार्यको वस्तुस्थितिको बारेमा जानकारी समेत लिए ।
अनुगमनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् सुरक्षा निकायका प्रतिनिधिहरूसँग प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार, खोजी, राहत वितरण तथा समग्र विपद् व्यवस्थापनलाई अझ प्रभावकारी रूपमा व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउन छलफल समेत गरे ।
अनुगमनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा अझ उच्च मनोबलका साथ कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
आफ्नो ज्ञान, सीप, विवेक एवम् क्षमताको उच्चतम् प्रयोग गरी उद्दार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कार्कीले बाढी प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुव्र्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुपर्ने बताए ।
विपद्को मौका छोपी हुन सक्ने आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न थप चनाखो भई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी रूपमा लैजान समेत विशेष रूपमा सक्रिय भई कार्य गर्न उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई बताए ।
प्रहरी महानिरीक्षक कार्कीसँगै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत बाढी प्रभावित जिल्लाहरूको स्थलगत अनुगमन तथा अवलोकन गरेका थिए ।








प्रतिक्रिया