Logo

मनोरञ्जन

‘पुजार सार्की’ ट्रेलरः अन्तरजातीय प्रेम र विद्रोह



काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका नायक आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बुसँगको अन्तरजातीय प्रेमलाई स्थान दिइएको छ । उनीहरुको प्रेममा आइपर्ने सामाजिक अवरोधदेखि जातीय विभेदको विषयलाई ट्रेलरमा उठान गरिएको छ ।

फिल्मका अर्का नायक पल शाहलाई भने जातीय विभेदविरुद्ध अग्रसर युवाको भूमिकामा देखाइएको छ । ट्रेलरमा पललाई आर्यन र अञ्जना तथा प्रदीप र परीक्षाको प्रेमका समर्थकका रुपमा देखाइए पनि विभेदविरुद्ध एकजुट हुनुपर्ने सन्देश दिएका छन् ।

कार्यक्रममा फिल्मका लेखक विकास सुवेदीले ‘पुजार सार्की’ मौलिक कथावस्तु भएकाले यसमा अन्य घटना नजोडिएको दाबी गरे । ‘धेरैले हामीलाई सुदुरपश्चिमका युवा नवराज विकको घटनाबाट प्रभावित भएर फिल्म बनाएको हो कि भन्ने प्रश्न गर्नुभयो । वास्तविकता त्यस्तो होइन । जातीयताका आधारमा नेपालमा भइरहेका घटनासँग फिल्मको कथा सम्बन्धित छैन । यो कथामा आफ्नो मौलिकता छ’, उनले भने ।

निर्देशक दिनेश राउतले फिल्मले फरक कथावस्तु उठान गरेकाले दर्शकका लागि नयाँ स्वाद हुने दाबी गरे । ‘जातीय विभेदका विषयमा हामीले फरक कथा फिल्ममा उठाएका छौं’, उनले भने । नायक प्रदीप खड्काले फरक चरित्रमा आफूलाई देखाउन पाउँदा मन खुशी भएको प्रतिक्रिया दिए ।

फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको अभिनय छ ।

किङ्गडम नेटवर्कको व्यानरमा सुवास भुसालले निर्माण गरेको फिल्ममा भुसालकै संगीत, राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन र हिमाल केसीको द्वन्द्व छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ०७ बजे