Logo

समाचार

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ आयोजना गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले घरेलु उद्योग महोत्सव-२०८१ आयोजना गर्न लागेको जानकारी दिए ।

उनले भने,‘लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला ‘नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१’ भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मुलुकभरका उद्यमीद्धारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य यस प्रदर्शनीको रहेको छ । यस महोत्सवको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ ।’

यसपटकको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला पनि संचालन हुने उनले जानकारी दिए ।

आयोजकका अनुसार प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैंयाँ भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।

यस मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतवाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, बैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : ५७ बजे