Logo

मुख्य समाचार

सर्वोच्चको पूर्णपाठ नआउँदा अलमलमा एनआरएनए



काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता विनोद कुवँरले एनआरएनको विधान अक्षरशः पालना गरेर अघि बढ्दा संस्था एक हुने बताएका छन् ।

सर्वोच्च अदालतको फैसला अनुसार समानान्तर गतिविधिहरु गरिरहेका सबै समूह खारेज भएपछि एक समूहको नेतृत्व गरेका कुँवरले सवै एकै ठाउँमा बसेर संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए । संघको दशौं महाधिवेशन विवादस्पद बनेपछि संघका पूर्वअध्यक्ष शेष घले निकट कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

उक्त कार्यसमितिले सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा.नहकुल सुवेदीको संयुक्त इजलासले तीनवटै (डा.वद्री केसी, आरके शर्मा र विनोद कुवँर) समूहका समानान्तर गतिविधिलाई अवैध भन्दै २०७८ माघ १ गतेको ८१ औं आइसीसीको बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई ब्युँत्याएको छ ।

सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा बस्ने पहिलो बैठकपछि ६ महिनाभित्र एकताको अधिवेशन गर्नुपर्ने छ । अहिलेसम्म सर्वोच्च अदालतको पूर्णपाठ आइ नसकेकाले उच्चस्तरीय समितिको बैठक बस्न सकेको छैन ।

संमितिमा घलेसँगै पूर्व अध्यक्षहरुका साथै समानान्तर समितिबाट केही व्यक्तिलाई पनि थप गरिएको छ । कुँवरले समितिको पहिलो बैठक भौतिक उपस्थितिमा बस्ने र त्यसपछि प्रक्रियाहरु अघि बढ्ने जानकारी दिए ।

उनले संयोजकका हिसावले घलेले सबैसँग छलफल गरिरहेको र हाल अष्ट्रेलियामा रहेकाले केही दिनमा नेपाल फर्किने पनि जानकारी दिए । घले नेपाल फर्किएपछि बैठक बोलाउने तयारीमा रहे पनि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउन ढिला भएकाले केही समय कुर्नुपर्ने उनले बताए ।

पूर्ण पाठ आउन अझैं एक महिना जति लाग्ने सम्भावना रहेको बताउँदै एकताको अधिवेशन गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा उनले जोड दिए ।

यसैगरी, सर्वोच्चको आदेश अनुसार परराष्ट्र मन्त्रालयले पठाएको चिठीका विषयमा प्रश्न गर्दा उनले आफूहरु अहिले पूर्णपाठकै प्रतिक्षामा रहेको बताए । उनले एनआरएनएको सचिवालय चलाउने जिम्मा सिईओको रहेकोले उनले उक्त पत्रको उनले कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिए । 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : १५ बजे