Logo

मुख्य समाचार

नारायण दाहालको प्रष्टीकरण : प्रचण्डको स्वीकृति अनिवार्य चाहिन्छ



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएकै कारण पदीय जिम्मेवारीहरु नआएको प्रष्टीकरण दिएका छन् ।

सिंहदरबारस्थित संसद्को कानुन, न्याय तथा मानवअधिकार समिति सभाकक्षमा मंगलबार सञ्चारकर्मीहरुसँग उनले आफूले क्षमता बनाएकै कारण जिम्मेवारीहरु पाएको दाबी गरे । अहिलेसम्म गरेका काम कसैमाथि निर्भर नभई गरेको पनि उनले बताए ।

राष्ट्रपतिबाट मनोनीतको कोटामा राष्ट्रिय सभा सदस्य पद पाएका दाहाल हालै अध्यक्ष निर्वाचित भएका हुन् । पार्टी र संसद्मा आफूले पाएका जिम्मेवारी ‘प्रचण्डको भाइ भएकाले’ भन्ने टिप्पणी भइरहँदा उनले सञ्चारकर्मीसँग तिक्तता पोखे । पार्टी अध्यक्ष प्रचण्ड भएकाले उनको स्वीकृतिविना कसैले पनि कुनै जिम्मेवारी नपाउने उनले प्रष्ट पारे ।

उनले भने, ‘प्रचण्डले कुनै जिल्लाको इन्चार्ज बनाउनका लागे भाई भएको हुनाले बनायो यो त्यसको भूमिका नै होइन भनेर कसैले प्रश्न उठाउछ भने म मैले जवाफ दिने के भन्ने हुन्छ । मैले आजसम्म जे गरेको छु आफ्नै बलबुतामा गरेको छु । अब पार्टीको नेता उहाँ हो, उहाँले स्वीकृति नदिएसम्म म मात्र होइन कसैले पनि कुनै जिम्मेवारी पाउदैन । मलाई मात्रै हो र, अस्ति प्रदेशको सहइन्चाजको निम्ति नाम लेख्दा, भाई भएर पायो रे, त्यसको जवाफ के दिनु ।’ उनले आफूलाई क्षमता र योगदान भएकाले पार्टीले ठाउँ दिएको दाबी गरे ।

अर्को प्रसंगमा उनले देशमा केही कानुनी जटिलता भएको भन्दै समाधानका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । ‘हामीसँग केही कानुनी जटिलता छ, यो कुनै व्यक्ति र प्रवृत्ति विशेष होइन राष्ट्रिय राजनीति अवस्थाको कारणले पनि हुन सक्छ,’ उनले भने, ‘संविधान कार्यान्वयन गरेको आठ वर्ष भइसकेको छ । बन्नपर्ने कानुन बनेको छैन, भएका कानुन पनि अगाडि बढ्न सक्या छैन । यो हाम्रो राजनीतिक अवस्थाको कारणले हो की के हो, त्यो हामी आफैंमा खोज्नु प¥यो, अरुमा खोजेर हुँदैन ।’

यस्तै, उनले संसदका दुवै सदनबाट अपेक्षा अनुसारको काम नभए पनि चैत ३० गतेको बैठकसम्म आइपुग्दा कुनै पनि विधेयकहरु थाती नरहेको बताए ।

उनले भने, ‘राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट अपेक्षा गरेअनुसारको काम भएन भन्ने कुराहरु आइरहेको र चासोको विषय छ । तर, पनि राष्ट्रिय सभामा जे जस्ता विषयहरु थिए, विधेयकहरु ३० गतेको बैठकसम्म आइपुग्दा हामीसँग थाती छैन । यस हिसाबमा हेर्दा राष्ट्रिय सभाले आफ्नो काममा ढिलाइ गरेको देखिँदैन ।’

राष्ट्रिय सभाको गरिमा बढाउने काम सांसद र सचिवालयको मात्रै नभएको भन्दै उनले अर्थपूर्ण र व्यवस्थित बनाउन सबैको सहयोगको आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : १२ बजे