Logo

निर्वाचन विशेष

इलाम कांग्रेसमा उत्साह, नेता आचार्यले गरे कांग्रेस जिताउने प्रतिवद्धता



इलाम । इलाम २ को उपनिर्वाचनका लागि मुख्य आकांक्षीका रुपमा देखिएका नेपाली कांग्रेसका नेता भेषराज आचार्यले आफूले कुनै लाभको पदसँग लेनदेन गरेर कार्यकर्तालाई धोका दिने काम नगरेको स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्काले उम्मेदवारको टिकट लिएपछि निराश देखिएका नेता आचार्य सोमबारको घरदैलो कार्यक्रममार्फत कांग्रेसको उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘मलाई कसैले कुनै पद दिन्छु भनेको छैन् । यो सांसद उम्मेदवारी कुनै पदमा साटेको लाग्छ भने त्यो सरासर गलत हो । म ३६ सालपछि निरन्तर संगठनमा क्रियाशील छु । अब पनि संगठन जोगाउन र कार्यकर्ता संरक्षणमा लाग्छु । कांग्रेसको उम्मेदवारलाई जिताउन लाग्छु ।’

आफ्नो ताकतले भ्याएसम्म कांग्रेस जोगाउन र कार्यकर्ता संरक्षणमा जुट्ने बताएका नेता आचार्य शनिबार डम्बर खड्काको उम्मेदवारी मनोनयन कार्यक्रममा सहभागी थिएनन् ।

क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर आएका सात आकाक्षीमध्ये आचार्य एक नम्बरमा थिए । इलामको पार्टी संगठनमा बलियो पकड जमाएका उनी कांग्रेसको इतर समूहबाट निर्विकल्प एकमात्र उम्मेदवार थिए ।

तर पार्टी सभापति शेर बहादुर देउवाले आफू निकटका खड्कालाई आधिकारिक उम्मेदवार बनाएपछि इलाम कांग्रेसभित्र अन्तरघात हुने खतरा बढेको अनुमान गरिएको थियो । यद्यपी, जिल्ला एवम केन्द्रीय नेताहरुको आग्रहपछि नेता आचार्य चुनावी अभियानमा होमिएका छन् ।

निरन्तरता, सक्रियता र संगठन निर्माण गरेरै स्थापित बनेका आचार्य हालसम्म कुनै विवादमा फसेका छैनन् । जोसुकै उम्मेदवार भएपनि उनको समूह मैदानमा सक्रिय नभए कांग्रेसलाई जित निकाल्न कठिन पर्ने अनुमान गरिएको भएपनि सोमबारदेखि आचार्यलगायतका ठूलो समूह खड्कालाई जिताउन चुनावी मैदानमा उत्रिएको जिल्ला सचिव पूर्ण गौतमले जानकारी दिए ।

इलाममा हुन लागेको उपनिर्वाचनका निम्ति २० जनाले उमेदवारी दर्ता गराएका छन् । इलाम क्षेत्र नम्बर–२ का निम्ति २० जनाको उमेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा राजनीतिक दलका तर्फबाट १२ र आठजनाले स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । इलाममा नेपाली कांग्रेस, एमाले, पहिचानवादी र रास्वपाबिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ०४ बजे