Logo

कोशी

व्यस्त तर अस्वस्थ्य पत्रकारलाई उपचारको चिन्ता



झापा । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ ।

इलामको सूर्योदय–७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको ‘मेरो रेडियो’ मा समाचार बाचक र कार्यक्रम प्रस्तोता छन् ।

विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका उनको दाहिने गाला, कान र चिउँडोमा मासुको ठूलो लुर्को पलाएको छ ।

डेरामा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका उनलाई मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न र खान समस्या भइरहेको छ भने कान र दाहिने आँखामा पनि समस्या भएको उनी बताउँछन् ।

मासु पलाउने समस्या जन्मजात भएको जनाउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र विर्तामोडको बीएन्डसी हस्पिटलमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको बताए ।

उपचारका लागि आर्थिक अभाव भएको उनले बताए । अरु मान्छे जस्तै स्वस्थ्य हुने इच्छा भएको र रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गरेका छन् ।  

हाम्रो अभियान नेपालका संयोजक नरेश मोहोराले उनको उपचारका लागि इजी केयर फाउन्डेसनमार्फत शुष्मा मेमोरियल अस्पताल काठमाडौंमा पहल भइरहेको बताए ।

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँचेका उनको बुवाआमा सामान्य कृषक हुन् भने एउटा भाइ वैदेशिक रोजगारीको सिलसिलामा मालद्विपमा छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १२ : ५० बजे