Logo

कोशी

सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत



काठमाडौं । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ ।

गएराति अबेर भएको सर्वदलीय बैठकपछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज गाउँपालिका वडा नम्बर २, ३, ४, ५ र ६, भोक्रा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने आज बिहान १० बजेदेखि कर्फ्यू हटाइएको छ ।

साथै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यू जारी भएका स्थानमा सभा, ¥याली भेला प्रदर्शन नगर्न प्रशासनले आग्रह गरेको छ । शनिवार सर्वदलीय बैठकमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको थियो ।

दुबै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने, समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने सहमति भएको थियो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रवार बेलुकाबाट सुनसरीको इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्ज र कोशी मा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो । हरिनगर गाउँपालिका–१ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ५१ बजे