Logo

निर्वाचन विशेष

इलाममा उपनिर्वाचनको रौनक, केन्द्रीय नेताहरुको लर्को



इलाम । आउँदो बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि प्रतिस्पर्धी दलका केन्द्रीय नेताहरु इलाम केन्द्रित भएका छन् । शनिबार उम्मेदवारी दर्ता जारी रहँदा केन्द्रीय नेताहरु इलाम उत्रिएका हुन् । बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएको छ ।

उपनिर्वाचनकै सिलसिलामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरु आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि इलाम पुग्नेक्रम जारी छ । बिहीबार मात्रै कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काको उम्मेदवारी टुंगो लागेपछि कांग्रेसका केन्द्रीय पदाधिकारीहरु इलाम पुगेका छन् । सहमहामन्त्री भिष्मराज आङदेम्बे, बन्द्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली इलाममा छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि इलाम पुगेर बामपन्थी एकता हुने सन्देश दिइसकेका छन् । नेकपा एसका अन्य नेताहरुपनि इलाम आउनेक्रम जारी रहेको युवा नेता सन्जिव राईले जानकारी दिए ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ नविना लामालगायत यसअघि नै इलाम पुगेर घरदैलो गरिसकेका छन् । गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि दिंवगत नेता सुवास नेम्बाङको निवास सुन्तलावारीस्थित घरमा पुगेर अन्तरक्रिया गरेका थिए । साथै पूर्वमन्त्रीहरु भानुभक्त ढकाल, तिलकुमार मेन्याङ्बो लगायत नेताहरुले चुनावी कार्यक्रममै भाग लिएका थिए ।

पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन् । सुहाङको पक्षमा माहोल बनाउन ५ वैशाखमा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै इलाम आउने तालिका छ । इलाम–२ को दोश्रो महत्वपूर्ण केन्द्र मानिने मंगलबारे बजारमा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गरेर काम गरिरहेका छन् । सभापति रवि लामिछाने यसअघि नै इलाम पुगेर आफ्नो दलका उम्मेदवार मिलन लिम्बुलाई सार्वजनिक समारोहबिच नै घोषणा गरे ।

लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतले इलाममा रास्वपाको विउ रोप्ने उदघोष नै गरे । त्यस्तै सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललगायतका नेताहरु पनि इलाम उत्रिएर घरदैलो गर्न भ्याए ।

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलामको भ्रमण गर्न भ्याइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । कांग्रेसले उम्मेदवारको टुंगो लागेसँगै इलाम २ मा चुनावी गर्मी बढेको हो ।

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भनिएको इलाममा यसपाली नयाँ दल रास्वपा र पहिचानवादीरुका उम्मेदवार थपिएका छन् । आगामी २०८४ सालको निर्वाचनका लागि नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नेताहरु इलाम केन्द्रित भएका हुन् ।

उपनिर्वाचनका लागि अहिलेसम्म यस क्षेत्रमा चार जनालेको उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन जाने क्रम जारी छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ४६ बजे